पुष १८, याङ्वरकफोकस / मानव जीवनको सृष्टिसँग सम्बद्ध : मुन्धुम अनुसार परमात्मा ईश्वर तागेरा निङ्वा?फुमाङ्को आज्ञा र सुझाव वमोजिम पारोक्मि यम्भामि देवले मानिसको सृष्टि गर्न लागे । सृष्टिमा अन्तिम नै भएपनि मानिसलाई सबैभन्दा विवेकी, अजर र अमर बनाउन चाहे । यसका लागि पहिले त सुन, चाँदी र मोतिले मानिसको मूर्ति (चइःत्) बनाए । मानिसको मूर्तिमा श्वास–प्रश्वास गराउन खोजे; भएन । हा हा, हु हु गरी बोलाउन खोजे; बोलेन । अजर र अमर मानिसको सृष्टि भएन ।

फेरि, निगालो बाँसको खरानी, पहेँलो माटो र पानीको लेउ (वाहि)को मिसावटले मानिसको मूर्ति बनाए । अब, श्वास–प्रश्वास गराए; भयो । बोलाए; बोल्यो । तर, सृष्टिकर्ता देवलाई खुशी होइन दुःख लाग्यो । कस्तो राम्रो सुन, चाँदी र मोतिले बनाउँदा नबनेको ! जाबो खरानी, माटो र लेउले बनाउँदा मात्र भएको ! भनी थुक्क थुके ।

मानिसको शीर ढल्यो र मर्ने भयो । शीर उठाउनी अनुष्ठान (माङ्गेन्ना) गरी शीर उठाए । बाँच्नु त बाँच्यो । तर, एक दिन त मर्नु नै पर्ने भयो । अब सृष्टिकर्ता देव विरक्तिए । विरक्तिएर उदास, निरास भई लेक, बेँसी र आवलतिर घुमिहिँड्दा अचानक वनमा फुलेको एक फूलमा उनको दृष्टि पर्यो । त्यो फूलको मनमोहक दृश्य र सुगन्धले उनको बैराग्य, उदासीपन र निराशामा केही सहानुभूति मिल्यो । उनले सोचे, आखिर यो सुन्दर फूल र यसको सुगन्ध पनि एक दिन ओइलेर झर्छ या सकेर जान्छ नि । यो सृष्टिमा कुनै पनि कुरा अजर र अमर भने नहुने नै रहेछ भनी चित्त बुझाए । त्यो चाँप (कक्फुङ्) को फूललाई देखाउँदै उनको सृष्टि मरणशील मानिसलाई सम्झाए । यो फूल हेरेर यसबाट जीवनको पाठ सिकेर बाँच्नू, जिउनू । जबजब यो चाँपको फूल फुल्छ यस यामलाई विशेष अवसरको रूपमा लिनु ।

स्रोत : प्रनय लिम्बु

प्रतिक्रिया लेख्नुहोस्