सुमन सहयात्री
पुष २०, याङ्वरकफोकस / साउदी अरेबियाले दुई हप्तादेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान खोलेको छ । बेलायतमा कोभिड-१९ को नयाँ रुप देखिएसँगै साउदीले पनि स्वास्थ्य सतर्कता अपनाउँदै गएको डिसेम्बर २० देखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान हिजो (आइतबार) देखि खोलेको हो ।

साउदी अरबमा वायु, जमिन र सामुद्रिक मार्गबाट पुनःप्रवेश शुरु भएको छ । यद्यपि बेलायत, दक्षिण अफ्रिकासहितका केही देशका लागि भने आंशिक प्रतिबन्ध कायमै छ । ती देशका नागरिकहरुलाई साउदी अरब प्रवेशअघि १४ दिन आफ्नो मुलुकबाहिर रहेको हुनुपर्नेछ ।

त्यस्तै, उक्त देशबाट आउने साउदीका नागरिकले पनि १४ दिनसम्म आफ्नो घरमा क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो बीचमा क्वारेन्टाइनमा बसेको ४८ घण्टा र तेह्रौं दिनमा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।

यी देश बाहेकका देशबाट आएका यात्रुलाई भने पीसीआर परीक्षण रिपोर्ट र सात दिनसम्मको होम क्वरेण्टीन अनिवार्य गरेको जनाइएको छ । साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि एकतर्फी उडान भने डिसेम्बर २९ मा नै खुला गरिसकेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्