पौष २३/ नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो ।

प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । अनलाइनखबरसँग भट्टले भने, ‘उहाँलाई हामीले कार्बाही गर्न मिल्दैन, त्यसैले पार्टी केन्द्रलाई सिफारिस गरेका छौं ।’ नेकपा विभाजन अगाडि रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए ।तर, ओली समूहले रावललाई हटाएर आफ्नो समूहका नेता भट्टलाई इन्चार्ज तोकेको छ । उद्योग मन्त्री भट्टले इन्चार्जको भूमिका पाएपछि बसेको पहिलो बैठकले रावललाई कार्बाहीको सिफारिस गर्ने निर्णय गरेको हो । ओली समूहले रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि अझै केन्द्रीय कमिटी सदस्यबाट हटाएको छैन ।

नेकपा प्रचण्ड–माधव समूहको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अर्को समूहलाई नभएको बताउँदै आएका छन् ।

ओली समूह प्रदेश बैठकले प्रदेश कमिटी समेत बिस्तार गरेको छ । यो समूहले सुदूरपश्चिम प्रदेश कमिटी ५५१ सदस्यीय बनाएको छ ।(अनलाईन बाट)

प्रतिक्रिया लेख्नुहोस्