पुष २३, याङ्वरकफोकस / किपटिया लिम्बुहरुसंग प्रशस्त जमिन थियो भने गैरकिपटिया साहुहरु संग रुपैयाँ । ती साहुहरु संग पैसा लिई लिम्बुहरुले जग्गा बन्धकी दिए । अनेक तरिकाले जग्गा लिम्बुहरुको हातबाट फुत्किन गइ रैकरमा परिणत भए । अनि, लिम्बुहरुमा “सुभाङ्गी” प्रथाप्रती नै वितृष्णा छायो ।

पान्थर थुम अम्लाबुङका सेनकालीन काजी कुमरायका जेठा सन्तान खलक जिम्मावाल तालुकदार सुब्बाहरूको घरमा भेटिएका पुराना कागजात र वंशावलीलाई मूल आधार बनाइ किपट व्यवस्था र समस्याबारे यो लेख तयार गरिएको छ।

लक्ष्मण लावती
कुमरायले पान्थर थुमका शासकका हैसियतले विजयपुर दरबारबाट पाएको लालमोहर इस्तिहारहरू आङ्देम्बे वंशावली २०६६ मा प्रकाशित छन्। उनलाई राजा कामदक्त सेन, देवान सिरिकान्त राय मात्र होइन कामदक्त सेनको हत्या गरि आफैं विजयपुरको हर्ताकर्ता बनेका चौतारा बुद्धिकर्ण रायले पठाएको लालमोहरसमेत उक्त वंशावलीमा छ। यसबाट विजयपुर शासनकालको अन्तिम समयसम्म कुमराय शक्तिशाली काजी रहेको स्पष्ट हुन्छ।

पछि २२ साउन १८३१ मा पृथ्वीनारायण शाहले लिम्बूवानका प्रमुख शासकहरूसँग सम्झौता गरेको लालमोहरमा समेत कुमरायको नाम उल्लेख छ। कुमरायले सेनकालमा खाईपाई आएको सबै अधिकार यथावत कायम रहने गरी उक्त सम्झौता गरिएको थियो। तर, उक्त लालमोहर सन्धीपश्चात् कति वर्षसम्म कुमराय पान्थर थुमको प्रशासक भएर बसे या उनको मृत्यु कहिले भयो भनेर खुल्ने अन्य कागज भेटिँदैन।

वंशावली अनुसार उनको शेषपछि जेठा छोरा बाजकर्ण (वाजनसिं) पान्थर थुमका जिम्मावाल अमाली सुब्बा बने। यिनै सुब्बा बाजवर्ण र तिनका दाजुभाई लाओती खलक यसहाङले १८६० साल कात्तिक बदी १० रोजमा पान्थर थुम वरेकलेम्बा हिम्वा खोला वारपार फालेलुंवा पश्चिम योक्मा डाँडादेखि दक्षिण भागको साउन्या फागुन्या पंचखत सरकार राखेर ठेक्का थिति पाएका थिए। उक्त लालमोहर ‘लिम्बूवानको ऐतिहासिक अध्ययन २०४२’ पुस्तकमा छ। यसबाट पान्थर थुममा दिनुपर्ने महत्वपूर्ण जिम्मेवारी यिनै पुराना शासक खलकलाई दिइएको स्पष्ट छ।

लिम्बूवानका थुमथुमका यी सीमित शासक खलकहरूका अलावा १८३९ सालमा राजा रणबहादुर शाहका पालादेखि एकपछि अर्को गर्दै नगरा निशान हतियारसहित सुभाङ्गी दिएर अन्य लिम्बू प्रशासकहरू थप्दै लगेको प्रकाशित लालमोहरहरूमा भेटिन्छ। दरबारमा विन्तीपत्र चढाउँदै नयाँ सुभाङ्गी लिनेहरूले यिनै थुमथुमका मुख्य प्रशासकहरूको कार्यक्षेत्र अधिकार फुटाउँदै लगे।

नयाँ थपिएका अमाली सुब्बाहरूले दरबारमा विन्तीपत्र चढाएकै भरमा मात्र सुभाङ्गी पाएका थिएनन्। नयाँ सुब्बाहरू जति धेरै थपिँदै गए राज्यलाई उति नै फाइदा हुने हुँदा दरबारले पनि थप्ने नै नीति लियो। शिवकुमार श्रेष्ठको ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ पुस्तकमा १८९१ सालमा इलिहां नामका लिम्बूका नाममा जारी एउटा लालमोहर छ। जसमा इलिहांले १८८४ सालमा ६० मुरी फल्ने खेत र सालिन्दा रू. ३०।– राज्यलाई तिर्ने गरी सुभाङ्गी पाउन विन्तीपत्र पेश गरेका छन्। उनले १८८१ मा सुभाङ्गी पाएको व्यहोरा उक्त लालमोहरबाट खुल्छ।

शंकरमान राजवंशीको ‘पुरातत्व पत्र संग्रह २०१८’ मा समेत यसै व्यहोरा अनुसारको पत्र १८९५ माघ बदी ३ मा संखजित लिम्बू, रणवीर र आशखेम लिम्बूका नाममा जारी भएको पत्र भेटिन्छ। त्यसैकारण ६० मुरी फल्ने खेत र रूपैयाँ चढाएपछि मात्र नयाँ सुभाङ्गी दिने नीति राज्यले अघिदेखि नै लागू गरेको स्पष्ट हुन्छ। नयाँ सुब्बाहरूले चढाएको ६० मुरी फल्ने खेतको राज्यलाई ठूलो उपयोगिता देखिन्छ।

महेशचन्द्र रेग्मीका अनुसार पहिले राजकर्मचारीहरूलाई तलब नगदको रूपमा दिने चलन थिएन। पदमा रहेसम्म निश्चित सरकारी जग्गा चारकिल्ला तोकेर दिइन्थ्यो। सुब्बाहरूले चढाएको किपट जग्गा यस्तै प्रयोजनमा उपयोग हुन्थ्यो। सैद्धान्तिक रूपमा राज्यको सम्पूर्ण भू-भाग राज्यकै नियन्त्रणमा रहने भएता पनि १८३१ को लिम्बूहरूसँग भएको लालमोहर सन्धीले सेनकालदेखिको थिति थामिदिएपछि लिम्बूवानको किपट भूमिमा दरबारको ठाडो हस्तक्षेप नचल्ने भइसकेको थियो।

लिम्बूवानको किपट जग्गामा कर उठाउने, प्रशासन संचालन गर्ने र अन्य विविध कार्यमा राज्यबाट सोझै हस्तक्षेप हुँदैनथ्यो। त्यसैले लिम्बूवानको किपट भूमीलाई बढीभन्दा बढी रैकरमा परिणत गरी राज्यले लाभ लिने नीति दरबारको थियो।

आङदेम्बे वंशावलीअनुसार कुमरायका जेठा छोरा वाजनसिंको १८९० सालमा मृत्यु भएपछि सुभाङ्गी पाउने रोलक्रम अुनसार निजका जेठा छोरा हजारसिं पान्थर अम्लाबुङका जिम्मावाल अमाली सुब्बा बने। हजारसिंका पालामा १८९१ सालमा अरुणपूर्व लिम्बूवानभरिका पुराना अमाली सुब्बाहरूले धनकुटामा चढाएको विन्तीपत्रको नक्कल अम्लाबुङ्गका अन्तिम आगे खेतमुखी जिम्मावाल सुब्बा स्व. खड्गबहादुर आङदेम्बेका घरमा भेटिएको कागज माथि दिइएको छ।

यो विन्तीपत्र कागजमा लेखिएको छ, “गोर्खा सरकार प्रवेश भै मुलक शर गराउँदा सेन मकवानीले दिएको थिति सदर गरी मोहर गरी दियाको हुनाले हाम्रा पूर्खाहरूले पाँच आनाका दरले तिरो तिरी किपट खाई ल्याएका थियौं। ८४/९१ सालमा किपटीया घर एके बाजवीको दोब्बर रू ६।। ठेक बुझाई थितिको बन्दोवस्त हुँदा मर्का पर्न गयाको छ। हामीहरूका गाउँ घर खेत महाजाँच आई जाँच भयापछि सालवसाल पल्टनका अमाली कम्पूका जिल्लादारहरूले खेतघर जाँची दिँदा र सालिन्दा हाम्रा भाइ विरादर हामीदेखि फुटी नयाँ सुब्बा राई पगरी हुँदा जग्गामा धेरै खिचौला पर्न जान्या हुँदा अब उप्रान्त यस्तै हुन गए भाई विरादर पनि भोट मुगलान जानेछन्। १० वर्षसम्म नयाँ सुब्बा राई हुन नदिनू।”

यस विन्तीपत्र अनुसार विजयपुरका सेन राजाहरूलाई बुझाउँदै आएको घरधुरी तिरोभन्दा कैयौं गुणा तिरो वृद्धि गरेको र सालिन्दा आफ्ना भाई विरादर फुटाई नयाँ सुब्बाहरू थप्दै लगेको देखिन्छ। यसबाट अस्थिरता पैदा भई बसाइ जानुपर्ने हुनसक्ने भन्दै १० वर्ष नपुगी यस्ता नयाँ सुब्बा राईहरू नथप्न पनि विन्तीपत्रमा आग्रह गरिएको छ।

यसै विन्तीपत्रको जवाफमा दरबारले १८९१ साल पौष सुदी १४ मा अब उप्रान्त १० वर्ष यता भाई फुटी आउनेलाई नयाँ सुब्बा राई नतुल्याउने इस्तिहार जारी गरेको थियो। त्यति मात्र नभइ ठेग थितिमा खिचौला नपार्न पनि इस्तिहार जारी भएको थियो। आङदेम्बे वंशावली अनुसार सुब्बा हजारसिंहको १९०० सालमा मृत्यु भएपछि नियमानुसार अमाल धमाल उनका जेठा छोरा हर्कबोलीमा जाने भयो।

बाबु मरेका बखत सुब्बा हर्कबोली सानै थिए। त्यसैले उनका माइला काका सुखराजले १९०१ मा मिन्हा सुब्बा दर्ता गरि सुभाङ्गी चलाउन थाले। पछि सुब्बा हर्कबोलीले अमाल धमाल फिर्ता माग्दा काकाले दिएनन्। १९१० सालमा जर्नेल खड्गबहादुर कुँवर धनकुटा आएका बखत लिम्बूवानमा चतुर आलेको महाजाँच आउँदा भने सुब्बा हर्कबोलीले आफ्नो परम्परागत सुभाङ्गी हक अधिकार फिर्ता लिन सफल भए। त्यसपछि सुब्बा सुखराज र हर्कबोलीले संयुक्त रूपमा अमाल धमाल चलाउन थाले।

१९०१ देखि १९१० सालसम्मको महाजाँचमा कुमराय खलक यी अमाली सुब्बाहरूबाट फुटी कति लिम्बूहरू किपट जग्गा र रूपैयाँ चढाइ नयाँ सुब्बा र राई बने भन्ने स्पष्ट तथ्यांक छैन। तर, १९१९ सालको महाजाँचमा भने सुब्बा हर्कबोली र सुखराजबाट फुटी किपट जग्गा र रूपैयाँ सरकारलाई चढाएर नयाँ सुब्बा हुनेहरूको संख्या १०४ जना रहेको तथ्यांक आङदेम्बे वंशावलीमा छ। ६० मुरी फल्ने खेत र रू. ५२।– सरकारमा चढाउने यी लिम्बूहरू १९२५ सालमा लिम्बूवानमा टेकवीर महाजाँच आउँदा मात्र नयाँ सुब्बामा दर्ता भएका थिए। उनीहरूले बढीमा पाँच घरको तिरोको जिम्मा लिई सुब्बा, राई बने।

चार पाँच घरको तिरोको जिम्मा लिन ६० मुरी अन्न फल्ने खेत र उस बेलाको रू. ५२।– राज्यलाई चढाई सुब्बा बन्न खासै महत्वपूर्ण थिएन। तर, त्यो सरकारले दिएको सुब्बा/राई पगरीप्रतिको आकर्षण थियो। जसमा सोझा लिम्बूहरु दिन-प्रतिदिन फस्दै गए र तिनको किपट जमिन दिनानुदिन घट्दै गयो।

लिम्बूहरूको किपट जग्गा दिदानुदिन घट्दै रैकरमा परिणत हुँदै जानुको यो नै मुख्य कारण भने थिएन। उस बेलाको ‘जंगलात मुलुक’ भनिएको पल्लो किराँत लिम्बूवान अति उर्बर भूमी थियो। जिविकोपार्जनका लागि खेतीपातीभन्दा अर्को उपाय नभएकाले बसाइ सराइका क्रममा अन्य गैर किपटिया जाति त्यसतर्फ अकर्षित हुनु स्वभाविक थियो। किपट जग्गा रैकरमा परिणत नहुन्जेलसम्म त्यसलाई राजीनामा गर्न मिल्दैनथ्यो। महेशचन्द्र रेग्मीका अनुसार किपट जग्गा गैर किपटिया जातिमा हस्तान्तरण हुन सक्ने एकमात्र माध्यम ‘बन्धकी प्रथा’ थियो।

किपटीया लिम्बूहरूसँग प्रशस्त जमिन थियो भने गैरकिपटीया साहुहरूसँग रूपैयाँ। त्यसैले गैरकिपटीया साहुहरूसँग पैसा लिई आफ्नो जग्गा बन्धकी दिन थाले। लिम्बूहरूको चाडपर्व, विवाह, बरखी आदि संस्कारहरू खर्चिलो मानिन्थ्यो। तोकिएको समयमा बन्धक रूपैयाँ साहुलाई फिर्ता गर्न सकेनन्। बरु थप बढी लिन थाले। यसले गर्दा धेरै किपट जग्गा उनीहरूको हातबाट फुत्किन गई रैकरमा परिणत भयो।

बन्धकमा लिइएका जग्गाहरूमा छिटोछिटो जाँच आई धमाधम रैकरमा परिणत गरिन थाले। साहुको धरपकडले कैयौं लिम्बूहरू सिक्किम, दार्जिलिङ बसाइँ जान बाध्य भए। पछि १९०७ साल आषाढ बदी ११ रोज ६ मा जंगबहादुर राणाका पालामा एउटा ‘रुक्का’ जारी भयो, “अब उप्रान्त तिमीहरूले भाग्नु पर्दैन, साहुले पनि नपलाउन्जेल ८/१० वर्ष धरपकड नगर्नू, पर्खनू। भागी जातमा जानिन्छौ। आफ्ना जग्गा घरबारी, स्वांरामा आई बस्नू। अमाल जाँचकी रकमीहरूले अन्याय गरे भनी अनेत्र भागी जान पर्दैन। हाम्रो हजुरमा विन्ती गर्न आउनू र निस्सा पगरी बक्स्यौँला।”

जंगबहादुरले भागेर अन्यत्र गएका लिम्बूहरूलाई पनि फिर्ता आएर आफ्नो घरबारी सम्हालेर बस्ने उर्दी जारी गरे। यस रुक्काबाट त्यतिन्जेलसम्ममा कति धेरै किपटीया लिम्बूहरू जग्गाविहीन भई विस्थापित भएका रहेछन् भन्ने अनुमान गर्न सकिन्छ।

शुरूमा लिम्बूहरूसँग किपट जग्गा धेरै थियो। त्यसलाई जति धेरै रैकरमा परिणत गर्न सक्यो उति नै बढी कर आउने हुँदा राज्यले त्यस्तै नीति लिएको थियो। तर, पछि लिम्बूहरूको उठिबास हुन थालेपछि १९५८ सालमा इस्तिहार जारी गरी किपट जग्गा अब उप्रान्त राजीनामा बिक्री गर्न नपाइने गरियो। उक्त खड्ग निशान इस्तिहारमा लेखिएको छ, “साहुले जग्गा लिना खानाको लागि दोबर तेबरसम्म ब्याज बढाई किपट खर्क जग्गा घर धुरीले चर्चेको समेत चार किल्लाभित्र पारी, राजीनामा गराई कसैलाई १५/१६ हजार र कसैलाई ७/८ हजार यस्तै किसिमसँग अंक बढाई लिम्बूको बास उठाएकोले सो सदर हुँदैन।”

यस इस्तिहारबाट सिधा लिम्बूहरूलाई झुक्याई किपट जग्गा धमाधम रैकरमा परिणत गरिएको देखिन्छ। लिम्बूहरूको किपट समाप्त हुने सम्भावना बढेपछि राणाहरू नै चिन्तित हुनेसम्मको अवस्था आएको थियो। यस्तो अवस्थामा जिम्मावाल तालुकदार सुब्बाहरूले अमाल धमाल सम्हाल्न पनि कम चुनौतिपूर्ण भएको देखिँदैन।

माथि उल्लेखित सुब्बा हर्कबोली र सुखराजका पालामा पान्थर थुमका सुब्बाहरूबाट २०२७ सालमा जंगबहादुर राणालाई लेखेको विन्तीपत्रको नक्कल निजहरूकै सन्तान अम्बिकाप्रसाद आङदेम्बेका घरमा फेला परेको थियो। उक्त कागजमा लेखिएको छ, “एक महाजाँच भयापछि अर्को नभयासम्म खोलो, पैरो, बाँझो, मर्‍याको, अपुताली खुद तालुकदार सुब्बा राईहरूले मिन्हा नपाउन्या, भोग बन्धकी दिया पनि मोहोर बमोजिम सरकारमा बुझाउनु पर्ने, दाताको नाउँको तिरो जग्गा खाँदा साहुबाट नतिराउन्या आफैं किपटीयाले तिरन्या, किपटी रैती केही व्यवहोरासँग उजरंग भया तालुकदार सुब्बा, राईका थाप्लाबाट तिरन्या।” यस्ता तालुकदार सुब्बाहरुको गुनासो जंगबहादुर राणालाई बुझाएको देखिन्छ।

यस विन्तीपत्रअनुसार साहुले कुनै किपट जग्गा बन्धकीमा लिएपछि त्यसको तिरो भने किपटीयाले नै तिर्नु पर्ने थियो। राज्यको यो नीतिले किपटीया लिम्बू आर्थिक रूपले झन कमजोर भए। एउटा महाजाँच आएपछि अर्को जाँच नभइन्जेलसम्म कुनै घर जग्गा खोलो पैरोले बगायो, बाँझो भयो, मरेर अपुतालि भएर घर खाली भएको तिरो पनि तालुकदार आफैंले तिर्नु पर्दा उ अन्यायमा परेको देखाउँछ।

यिनै सुब्बा हर्कबोली र सुखराजसहित अर्थवाज, भगिजसका नाममा १९२८ सालमा धनकुटा दरबारमा प्रत्येक चैतेदशैं र महादशैंमा बोका १४ वटा र राँगो एउटा दाखिल गर्नैपर्ने कागज थियो। जसले के देखाउँछ भने जिम्मावाल तालुकदार सुब्बाहरूमाथि उल्लेख गरिएका विविध दबाबहरूका बावजुद राज्यपक्षबाट थप शोषण भएको थियो।

सुब्बा हर्कबोलीको मृत्युपछि जेठा छोरा सहारजित तालुकदार जिम्मावाल अमाली सुब्बा बने। सहारजितले सुभाङ्गी थाम्न सकेनन् र वैरागी साधु बनी काठमाडाैंतिर लागे। कुमराय खलकका जेठो सन्तान सुब्बा सहारजितले त्यत्रो अमाल धमाल छोडेर घर छोडेर हिड्नुको कारण उसबेलाको अमाली सुब्बाहरूमाथि राज्यको नीति र विविध सामाजिक दबाब हुन सक्छ।

त्यसपछि सहारजितका जेठा छोरा डम्बरसिं अमाली सुब्बा बने। डम्बरसिं पनि १९९० सालमा अमाल धमाल र घरबारी छोडेर सपरिवार दार्जिलिङ विजनवारीतिर बसाइ गए। यसरी कुमरायका जेठा सन्तान अमाली सुब्बा खलकहरू टाट पल्टिएर परदेश भाग्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ।

डम्बरसिंपछि उनका काका सहारबहादुरले सुभाङ्गी थामे। तर, छोटो समयमै उनको मृत्यु भयो। उनका जेठा छोरा रतनबहादुर खेतमुखी सुब्बा बने। परिवारभित्रै अमाली तालुकदार सुब्बाहरूको व्यथा र हविगत देखेका सुब्बा रतनबहादुरले पनि शुरुमै आफ्ना भाइ इन्द्रजितलाई अमाल धमाल जिम्मा बुझाए। सुब्बा इन्द्रजितले पनि केही समयमै आफ्ना भतिज तिलकबहादुरलाई आफ्नो अमाल धमाल जिम्मा लगाए। सुब्बा तिलक बहादुरले आफू अपुताली भएको समस्या देखाउँदै आफ्ना भाइ खड्गबहादुर आङदेम्बेलाई सुभाङ्गी जिम्मा दिए।

कुमरायको जेठा सन्तान जिम्मावाल तालुकदार सुब्बा खलकहरु पलायन भएपछि काका भतिजा खलकमा आइपुगेको सुभाङ्गी पद एकले अर्कोलाई जिम्मा दिँदै पन्छिन थाले। यसबाट के स्पष्ट हुन्छ भने परिवारभित्रै जिम्मावाल सुब्बाहरूको हविगत देखेका उनीहरूमा ‘सुब्बा’ पदप्रति वितृष्णा रहेछ।

तर, यही समयमा पनि राज्यलाई किपट जग्गा र रूपैयाँ चढाई यिनैबाट फुटेर नयाँ सुब्बा हुनेहरूको तथ्याङ्क भेटिनु आफैंमा अनौठो छ। अन्तिम सुब्बा खड्गबहादुर आङदेम्बेको पालामा २०२१ सालमा राजा महेन्द्रले भूमी सम्बन्धी ऐन जारी गरी २०२३ सालमा पल्लो किरात लिम्बूवान क्षेत्रमा किपट प्रथाको अन्त्य गरे। त्यससँगै सुभाङ्गी प्रथाको पनि अन्त्य भयो। रासस

प्रतिक्रिया लेख्नुहोस्