पुष २५, याङ्वरकफोकस / एनसेलको सिमकार्ड प्रयोगकर्ता विद्यार्थीहरुले अब आफ्नो आवश्यकता अनुसार विभिन्न विषयहरु जुनै पनि समयमा सजिलै अडियो मार्फत अध्ययन गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘एनसेल अडियो क्लास’ सुरु गरेको हो । जसअन्तर्गत विद्यार्थीले मोबाइल मार्फत पाठ्यक्रममा आधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्नेछन् ।

पहिलो चरणमा अडियो क्लास सेवामा कक्षा १ देखि कक्षा ४ सम्मको पाठ्यक्रमहरु उपलब्ध छन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई ध्यानमा राख्दै चरणबद्घ रुपमा अरु कक्षाहरुको लागि थप पाठ्यक्रमहरु समावेश गरिनेछ ।

विद्यार्थीले एनसेल नेटवर्क कभरेज भएको कुनै पनि स्थानबाट विभिन्न विषयहरु जस्तै अंग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षाका सामाग्री तथा पाठहरुमा सहजै पहुँच प्राप्त गर्न सक्छन् । ग्राहकले १७१४४ डायल गरी प्राप्त निर्देशन अनुरुप अडियो क्लास सेवा सुचारु गर्न सक्छन् । इच्छुक ग्राहकले अडियो क्लास सेवाका प्याकहरु एसएमएस, युएसएसडी तथा वेब च्यानल मार्फत पनि सुचारु गर्न सक्छन् ।

अडियो क्लासको लागि हाल ३ दिनको र ७ दिनको गरी दुई वटा विकल्पहरु रहेका छन् । ३ दिनको प्याकमा विद्यार्थीले कर सहित मात्र रु ७ मा ५० मिनेटको अडियो क्लासको सेवा लिन सक्छन् । त्यस्तै ग्राहकले ७ दिनको प्याकमा कर सहित मात्र रु १४ मा १०० मिनेटको अडियो क्लासको सेवा बाट फाइदा लिन सक्छन् ।

कुनै अडियो प्याक अन्तर्गतको निश्चित मिनेट सकिएमा ग्राहकले ५० मिनेटको थप अडियो क्लासको सेवा मात्र रु ७ मा फेरी खरिद गर्न सक्छन् । यस सेवा सुचारु गरिएको पहिलो ५ महिना सम्म अडियो क्लासको प्रत्येक नयाँ ग्राहकले एक हप्ताको लागि यो सेवा निःशुल्क प्रयोग गर्न सक्छन् ।

प्रतिक्रिया लेख्नुहोस्