पौष २७ सोमबार २०७७ – याङवरक फोकस
साउदी अरबस्थित नेपाली दूतावासले आगामी माघ ११ (जनवरी २४, २०२१) गतेदेखि मागपत्र प्रमाणीकरण सुरु गर्ने भएको छ। साउदीमा कोभिड–१९ का कारण स्थगित भएको कामदार मागमत्र प्रमाणिकरण पुनःसञ्चालन हुने दूतावासले आइतबार साँझ एक सूचनामार्फत जानकारी गराएको हो।

सरकारले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरेको करिब ७ महिनापछि साउदीस्थित नेपाली दूतावासले नयाँ मागपत्र प्रमाणीकरण गर्ने सूचना जारी गरेको हो। नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन लगायतका संघसंस्थाले मागपत्र प्रमाणीकरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागदेखि परराष्ट्र मन्त्रालयलाई पटक पटक ध्यानाकर्षण गराएका थिए।

राजदूतावासले यसअघि गतवर्ष २०७६ फागुन ४ मा प्रकाशन गरेको सूचना बमोजिम मागपत्र प्रमाणीकरण कार्य अनलाइन प्रणालीबाट मात्र हुने जनाएको छ। मागपत्र प्रमाणीकरणका लागि २४ जनवरी २०२१ भन्दा अघि प्राप्त हुने कागजात उपर कुनै कारवाही नगरिने दूतावासले जनाएको छ। अनलाइन प्रणालीबाट मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजातहरू राजदूतावासको वेवसाइटबाट प्राप्त गर्न सकिने दूतावासले जनाएको छ।

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको भन्दै दूतावासले साउदी सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल एवं कोभिड–१९ संक्रमणका कारण साउदी श्रम बजारमा परेको प्रभावका बीच कामदारको रोजगारीको सुनिश्चिततालाई मध्यनजर गर्दै मागपत्र प्रमाणीकरण कार्यलाई सीमित संख्याबाट सावधानीपूर्वक शुरू गरी आवश्यकता अनुसार चरणवद्ध रूपमा बिस्तार गर्दै लगिने बताएको छ।

साउदी अरबले घोषणा गरेको श्रम सुधार योजना आगामी १४ मार्च २०२१ बाट लागू हुने भन्दै दूतावासले त्यसलाई समेत दृष्टिगत गरी मागपत्र प्रमाणीकरण भएपछि आउने कामदारहरु उक्त मितिपछि मात्र साउदी अरबमा आउने व्यवस्था मिलाउन इजाजतपत्रवाला संस्थाहरूलाई आग्रह गरेको छ।

कोभिड–१९ संक्रमण सुरू हुनु अगाडि मागपत्र प्रमाणीकरण गरी लगेका रोजगारदाताले आफ्नो कम्पनीमा ती मागपत्रबाट हालसम्म कामदार ल्याई नसकेको अवस्था भए यसरी आउने कामदारलाई विद्यमान अवस्थामा पनि रोजगारी दिन सक्षम छ भन्ने लागेमा सो पुष्टि गर्ने कागजातलाई च्याम्बर गरी पेश गर्न सकिने दूतावासले जनाएको छ।

मागपत्र प्रमाणीकरणसंग सम्बन्धित विषयमा समस्या सिर्जना भई राजदूतावासका अधिकारीसंग भेटघाट गर्नैपर्ने अवस्था आएमा राजदूतावासको इमेल वा टेलिफोनमार्फत् अपरान्ह २ देखि ४ बजेसम्म मात्र अनिवार्यरूपमा अग्रिम समय लिएर भेट गर्नुपर्ने छ। भेटघाटको लागि रोजगारदाता कम्पनीको हकमा मानव संशाधन व्यवस्थापक वा सो भन्दा माथिको प्रतिनिधि र इजाजतपत्रवाला संस्थाको हकमा संचालक वा प्रमुख स्वयं वा निजको वैदेशिक रोजगार विभागको परिचयपत्र वाहक प्रतिनिधि हुनुपर्ने अनिवार्य गरेको छ।

साउदी स्थित नेपाली राजदुतावासको पत्र/सुमन सहयात्री 

प्रतिक्रिया लेख्नुहोस्