पुष २९, याङ्वरकफोकस / अन्तरिक्षमा नेपालको आफ्नै भु-उपग्रह (स्याटेलाइट) राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न देशका नौ कम्पनी इच्छुक देखिएका छन् । स्याटेलाइट सञ्चालनका लागि आवश्यक कानुनी, आर्थिक र सञ्चालन ‘मोडालिटी’मा समेत परामर्श उपलब्ध गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणले आह्वान गरेको हो ।

प्राधिकरणका अनुसार आवेदन दिनेम कम्पनीहरुमा चीनको बेइजिङ स्पेसकी टेक्नोलोजी कम्पनी लिमिटेड, फ्रान्सको युरो कन्सल्ट कम्पनी, लन्डनको इकोनिमिक्स लिमिटेड र भारतको केपिएमजी असुर्यानसिटी एन्ड कन्सल्टिङ सर्भिसको जेभीमा केपिएमजी–एग्रोस्याट रहेका छन् । यसैगरी अमेरिकाको स्पेस पार्टनरशिप इन्टरनेशनल, दुबईको एसथ्रिटेल इन्टरनेशनल, युकेको किस्पे स्पेस सिस्टम लिमिटेडको जेभी किस्पे टिम, सिङ्गापुरको सेलिस्टियल कन्सल्टिङ सर्भिस र जर्मनीको स्पेस टेक पार्टनर रहेका छन् ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार पुष २७ गते दिउँसो १२ बजेभित्र आवेदन बुझाई सक्ने गरी पुष १ गते उक्त आवेदन खुलाइएको थियो ।

आवेदन पेश गरेका नौ कम्पनीमध्येबाट प्रतिस्पर्धाका आधारमा एउटा कम्पनी छनोट हुनेछ । ४० प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गर्नेछ ।

अर्यालका अनुसार छनोटमा पर्ने कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्तावको माग गरिनेछ । उनीहरुबाट आएको प्रस्तावको अध्ययन गरी प्राधिकरणले भूउपग्रह स्थापना सम्बन्धी आधारभूत कामहरूको जिम्मा दिने जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्