लिला सेलिङ माबो (बेलायत)
माघ ७, याङ्वरकफोकस / बेलायतमा कोभिड १९ ले गर्दा लकडाउन भएको २९९औं दिन । मान्छे मृत्यु हुन थालेको ३१६औं दिन । नेपाली पात्रोको माघ १ गते मात्रै १५६४ को मृत्यु । जम्मा मृत्यु ८४७६७ । मृत्यु दर एकदम चिन्ताजनक ।

माथिको तथ्याङ्क प्रस्तुत गर्नुको मुख्य कारण चाहिँ माघ १ गते नेपालीहरूको विशेष दिनमा नै म आफै पनि कोरोना पोजिटिभ देखिएकी छु । बेलायतको चिसो मौसम हिटरले पनि कोठा नतातिने अवस्थामा म एक किसिमले शुन्य अवस्थामा छु । बाहिरी दृश्य उत्तिकै उराठिलो लाग्छ । शिशिर ऋतुमा नाङ्गिएका रुखहरू, भोक र वासस्थानको अभावमा चिर्बिराइरहेका चराचुरुङ्गी । ओहो ! कति बिरक्त लाग्दो दृश्यहरू ।

कोरोनाको पीडा उठ्न बस्न सकस भइरहेको अवस्था । विवस छु ओछ्यानमा एकोहोरो पल्टी रहन । सोंचमा छु जिन्दगीले के के थियो अझै के के बाँकी होला ? कस्तो संयोग आज माघ १ गते माघे संक्रान्ति । माघे मेला, संक्रान्तिलाई लिएर छपक्कै मनमा बसेका मुहारहरू, पलहरू आँखामा कैद दृश्यहरूको याद बल्झेर आयो । क्वारेन्टाइनको यो सकस पूर्ण समयमा यिनै स्मृतिहरूलाई शव्दहरूमा उतारेर सदुपयोग गर्ने जमर्को गरेको छु मैले ।

चाड हो, नेपालबाट आमा बुबा भाइ बहिनीको सोधाइलाई पनि ढाँट्न विवस छु । माघे सक्रान्ति राम्रै भयो सामान्य रुघाखोकीले अलिकति खल्लो बनएको तर्क प्रस्तुत गरें आमालाई । आमाको आफ्नै दुखेसो छ । भन्नु हुन्छ काठमाडौंको तरुल गाउँमा जस्तो मीठो छैन । तर म ठिक छु भन्ने तर्कमा आमा पूर्ण विस्वस्त हुनु नभएको महसुस मैंले गरे ।

मैले माथी उल्लेख गरे अनुसार क्वारेन्टाइनको समय माघे मेला र सक्रान्तिको सेरोफेरोमा सँस्मरण लेखाइ हो मेरो । आमाले बिहानै तरुल सङ्गै मासु र अरु तरकारी पकाउनु भएको अनि बुबाले हामी सबै नुहाउने पानी तताउनु भएको अहिले हो जस्तो लाग्छ मलाई । एकाबिहानै पोखरेल, बानियाँ फुपुहरू इन्द्रावती र कावेली दोभानमा मकर नुहाउन भनेर जाने गरको पनि भुलेको छुइन । अँ त आमाले पकाइ सक्नु भए पछि “हुक्वा“ पुर्याउन बाजे बोजु कान्छा काकाकोमा गएको क्षणहरू सम्झिदा साँच्चै रमाइलो लाग्छ ।

त्रिवेणी मेला पनि माघ १ गतेको विशेष सम्झना हो मेरो लागि । उमेरले अलिकति वैंशालु अनुभूति दिलाए पछि मलाई पनि मेला जाने रहर बिछट्टै लागेर आयो । तर त्यो समय अहिले जस्तो थिएन । तेसैले म धेरै नै रोएपछि मात्रै रातमा घर नै फर्किने सर्तमा बुबा आमाले पहिलो पटक मेला जाने अनुमति दिनु भयो । हामी गाउँका चेली माइती मिलेर पहिलोपटक मेला गएको त्यो दिन पनि ताजै छ । आहा! आलुको चाना, गुन्द्रुक र फिलिङ्गेको अचार संग चाम्रेको खाजा बोकेर मेला गएको सम्झनाले कोरोना पीडा पनि थोरै कम महसुस पो भयो त ।

चेली माइती सबै मेलाबाट बटुलिएर सङ्गै खाजा खानु एउटा छुट्टै अपनत्व थियो । म अलि सानो भएकोले विशेष माया थियो माइती हरूको तेसैले माघको जाडोमा मेलाको वारि पट्टी थर्पुको खमारे खेतमा आगो बालेर ताप्न लाएको न्यानो अझै चिसिएको छैन । अहिलेको प्राविधिक युगमा अपनत्व हराउदै गएको छ । क्षणमै सम्बन्ध बन्छ तोडिन्छ तर त्यो समय लामो समय पछि बल्ल मेलामा भेट हुने मायालु जोडीहरू रातभर धान नाच्ने प्रेमील कुरा गर्ने अनि बिहान हुदा नहुदा कतिपय त रुदै छुटिने यस्तै कारणहरूले पनि कति धेरै महत्वपूर्ण हुन्थ्यो मेला त्यो समयमा । मेलाको राम्रो मात्रै हैन नराम्रो सँस्मरण पनि बटुलेको छु मैले ।मेलाको आफ्नै विशेषता भए पनि जाँड रक्सी र झगडा यसको नराम्रो पक्षहरू हुन् । यसै सन्दर्भमा एउटा सम्झना । हामी बिहानको ३–४ बजेतिर मेला भन्दा अलि माथि खाजा खादै थियौ तल झगडा भएछ । धेरै ले इन्द्रावती पौडेर तर्दा पानीको छप्ल्याङ छप्ल्याङ आवाज कानमा ताजै छ । अझ एक जना रुखको सानो बिरुवा पक्डेर बल्ल डिलमाथी उक्लेर भागेको दृश्य त ओहो ! सायद तेसरी नै त्यो विहान धेरैले आफ्नो ज्यान जोगाए ।

उफ ! कोरोनाले निक्कै पीडा दिएको छ तर स्मृतिमा म डुब्दै छु । त्यो समयमा भाइचारा अपनत्व धेरै नै थियो । वारिपारि गाउँका सबै आफ्नो लाग्थ्यो । अहिले पनि म यहि सिध्दान्तमा हिड्दै छु । जबकि अहिले मान्छे वल्लो घरकोले पल्लो घरकोलाई चिन्दैनन् । अपनत्व कति थियो भने पान्थरको सबै जातजाति लाई याक्थुङ पाःन र पाःलाम सिक्ने गाउने रहर हुन्थ्यो । मलाई पनि रहर नहुने कुरै भएन । यसै सन्दर्भमा छोटो सँस्मरण । एक जना साथीलाई पाःलाम आःहुरे भनेको जिस्केर गम्छाले नाक थुनि दिएर झन्डै मारेन । पछि भन्छ आःहुरे भनेकोले तेसो गरेको रे । तर मैले चाहिँ पाःलाम दिक आःहुरे भनेको हुङ । मेरो लागि त्यो पल सास थुनिएर एकदम डरलाग्दो थियो ।

२१ औं शताब्दीमा मानवता बिस्वास भरोसा अपनत्व हराएको यो शहरमा यिनै स्मृतिहरू सङ्ग क्वारेन्टाइन समय व्यतीत गर्दैछु म । माक्स पन्जा लाएर ढोका बाहिर छाडि दिएको खाना टिपेर खानु ओहो! कति पीडा । यो कुराले मेरो दिमाग नराम्रो गरि निचोर्दै छ आजभोली कि यसै गरी पर पर राखिदिएर खाना खान बाध्य बनाउदै गरिएको जातीय विभेद कति क्रुर मानविय व्यवहार थियोरछ । जसरी कोरोनाले मलाइ विभेद गरेको छ त्यो भन्दा कति कति पीडादायक हो यो पीडितहरूको लागि । कोरोना भन्दा खतरनाक सामाजिक भाइरस ।

आशा छ म चाँडै कोरोना मुक्त हुनेछु तर यो सामाजिक भाइरसबाट समाज कहिले मुक्त हुने हो । ओछ्यानमा पल्टेर सोच्दै छु यदि तेसो हुदो हो त त्यो समय आहा मानवताको जित हुनेछ ।

मैले हार मानेको छुइनरमान्दिन पनि । चाँडै यो समयलाई म जित्ने छु भन्दै सबैलाई कोरोना बिरुद्ध सजग रहन पनि अनुरोध गर्दै मेरो सँस्मरण टुङ्ग्याउन चाहन्छु । पढिदिनु हुने सबै लाई नोगेन ।

Fleet UK

प्रतिक्रिया लेख्नुहोस्