सरकार हामी कहिलेसम्म सेतो बाकसमा फर्किनु पर्ने” – सुमन सहयात्री 

माघ ११ गते आइतबार

सनिबारको डिउटी सकाएर कोठा फर्किएपछि मात्रै फेसबुक खोले फेसबुकको सुरुवातमै यस्तो समाचार हेर्नुपर्ने भो एउटा टेलिभिजनबाट प्रसारण भएको समाचार शिर्षक यस्तो थियो “मलेसियाबाट १७ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्यो” भनेर लेखिएको हेडलाईन सहितको समाचारको भिडियो आखैमा ठोकियो ।

म रोकिए केहिबेर ! लगभग साढे ४ मिनेटको भिडियो थियो । एकपटक पनि आँखा बन्द नगरी उक्त समाचार हेरे, आखाहरू कतिबेला भिजेर गह भरी आँसु बनेर बगेछन् पत्तै भएन । आफुलाई खुब कन्ट्रोल गरे ।

ती १७ जना नेपाली नागरिकहरूको आफ्नो परिवार सम्झिए, तिनीहरुको आफ्नो जीवन संगिनिहरू सम्झिए, बालबच्चाहरू सम्झिए र बृद्धआमाबाबुहरू सम्झिए । ती अधुरा सपनाहरू सम्झिए । आखिर हामी बिदेशिएकाहरूको सपनाहरू त सायद साझा नै हुन्छन् होला ?

मनमनै सम्झेर आफुलाई सम्हालेर बसेको छु ।
एकपटक मात्रै तिनीहरुको ठाउँमा आफुलाई उभ्याएर हेर्नुस् त ! अनि एकपटक कल्पना मात्रै गरि हेर्नुस् त ! ओहो ! एकैछिनमा सबै अध्यारो भएजस्तो महसुस भयो । आफुलाई छामे म कहाँ छु भनेर, झसङ्ग झस्किए म त समाचार संगै हराएछु कता-कता कल्पनाको आधिबेरिले कता पुर्‍याएछ । केही छिन त सोच्न सकिन ।

समाचारको भिडियो हेरिसकेपछी लामो श्वास तानेर टक्क अडिए ढोका छेवैको सोफामा थचक्क बसे । छिनमै रिंगटा चल्यो, यस्तो चिसो मौसममा पनि शरीरभरि पसिनाले छिट्का मार्दै थियोे । म आफै सम्हालिए । साथीहरू दोस्रो सिफ्टको लागि डिउटी गैसकेका थिए । म भने फस्ट सिफ्टको डिउटी सकाएर कोठामा आइसकेको थिए । कोठामा एक्लै थिए । कोठा पुरै सुनसान छ, आज एसिको आवाज पनि कानले सुन्न छोडेको छ । आँखा भरी, दिमाग भरी उहीँ समाचारको भिडियो घुमिरहेको छ । मनमनै अनेकन कुराहरू खेलिरहेका छन् । मेरो आफन्त साथीभाईहरू थुप्रै मलेसियामै कार्यरत छन् । ममा एकातिर सरकार संग थामी नसक्नु आक्रोश छ । यो आक्रोश कहाँ पोखौँ ? कहाँ लेखौँ ?

यतिबेला यहि लेख्न खोजी रहेको छु । हातका औलाहरू कामिरहेका छन्, बोलिहरू अवरुद्ध बनेका छन् । “प्रीय सरकार हामी कहिलेसम्म परिवारको खुसी खोज्ने बहानामा यसरी सेतो बाकसमा फर्किनुपर्ने ? हामी बिदेशिएकाहरू सपनाको सिरानी लगाएर कामको थकान लाई केही समय मेट्नको निमित्त निदाएका मात्रै हुन्छौं तर के थाहा यसरी आफ्नो मातृभुमी कहिल्यै नदेखिने गरि निदाउछौ भन्ने ? “
वैदेशिक रोजगार बिभागले उक्त शवहरुलाई निशुल्क परिवारको घरैसम्म पुर्‍याउने प्रावधान गरेको थियो । जिउँदै छदा त सरकारले केही गर्न सकेन तर मरेको शवलाई घरसम्म ल्याइदिदा धन्यवाद भन्नुपर्ने या गर्वले छाती फुलाउनु पर्ने ? यो कस्तो विडम्बना ? सायद सरकारको हैसियत भनेको मरेको लास मात्रै ल्याउन सक्ने हो ? यी यस्ता हजारौं प्रश्नहरूले मेरो गिदिमा हानीरहेको छ ! कसरी सम्हालौ मनलाई ? कति सपनाहरू पूरा भए होलान् ? कति अधुरै छोडेर गएन ?

सायद यो शताब्दीकै महा अभागी हामी नेपाली नागरिकहरू रहेछौं । जो हाम्रो युवाहरूको सपनाहरू संग सिंहदरबारमा बसेर राजनीति गर्छन् । धिक्कार छ हाम्रो सपनाहरू संग खेलबाड गर्नेहरू । धिक्कार छ हाम्रो खुशिहरू संग सौदाबाजी गर्नेहरू । सरकार कहिलेसम्म खोक्रो आदर्शको पाठ मात्रै पढाउछौँ ? न आफ्नै माटोमा केही गर्ने वातावरण बन्न सक्छ ? तिमीहरूको खोक्रो भाषणले मात्रै मात्रै देश चल्छ जस्तो लाग्दैन । कहिलेसम्म मजस्ता नौजवान युवाहरू दिनहु बिदेशीन बाध्य हुनुपर्ने ? समाजको अवधारणाहरू संगै परिवर्तनको नारा लगाएर सिंहदरबार छिर्नेहरूले न गरिबिलाई बुझाए न गरिबिको अभाबलाई छोप्न सके, केवल आफ्नै लाज मात्रै छोप्नुपर्ने अवस्था भएको छ । हुन त सरकारको यतिबेला सबै-सबै उदाङ्गो भैसकेको छ । लाज ढाक्ने त परको कुरा । परिवर्तनको नाममा १७/१७हजार नागरिकको रगतको खोली बगाएर सिंहदरबार छिरेकाहरू संग सोध्नु मन छ, घर घरमा रोजगार लगायत अन्य आश्वासन बाडेर मीठो भाषण छाट्नेहरू संग सोध्न मन छ – के अब हामी बिदेशीएका नेपाली नागरिकहरू यसरी कहिलेसम्म सेतो बाकसमा फर्किनु पर्ने ? अहिलेको निकम्मा सरकार संग त पक्कै यसको जवाफ छैन होला ? किनभने विश्व कोरोनाको महामारीमा लडिरहेको बेला नेपालमा भने कुर्सिको लडाइँमा लडिरहेका छन् । अरु के भनौ र के लेखौँ ? मेरो लेख्ने हैसियतले नभ्याउला तर सरकार म एउटा नेपाली नागरिक भने अवश्य हुँ । यति बोल्न र लेख्न लोकतन्त्रले दिएको छ ।

उहीँ अभागी बिदेशिएको नेपाली नागरिक

बाकी समाचार पढ्नुहोस :-

परिवारको खुशीको खोज्न मलेसिया पुगेका लक्ष्मी बाकसमा फर्किए, विमानस्थलमा छोराको शव उठाउदै भक्कानिए बुवा। शनिबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खचाखच थियो। नेपालबाट बाहिरिने र भित्र्नेकाहरुको चाप उस्तै।

कोही आफन्तालई बिदाइ गर्न फूलमालासहित विमानस्थल पुगेका थिए त कोही त्यसै गरी स्वदेश फर्किएकालाई स्वागत गर्न। सबैकाे मुहार हँसिलाे थियाे।

तर त्यही भिडकाे बिचमा मलिनाे अनुहार बनाएर बसेका थिए,पाँचथर कुम्मायक गाउँपालीका-३ का नरबहादुर माझी। उनी हातमा एक कागज समातेर रन्थनिदै थिए।

निकै चिन्तित मुद्रामा देखिएका उनले प्रहरीलाई सोधे, ‘विदेशबाट आएका शव कहाँबाट लिने होला?’

छेउमै रहेको एक प्रहरीले उनलाई केही सान्तोना दिने प्रयास गरे। तर नरबहादुरको मलिन अनुहार देखेर उनलाई प्रश्नको जवाफ दिन बाध्य बनायो।

प्रहरीले भने,‘एकछिन उता बस्नुहोस्, अझै कर्मचारी आएका छैनन, आएपछि बोलाउँछौ’।

विमानस्थल भवनको पिँढिमा टुसुक्क बसे। उनको प्रतीक्षाको कारण थियो छोरा लक्ष्मीकुमार माझी। उनी परिवारलाई खुशी बनाउन ८ वर्ष अगाडि मलेसिया भासिएका थिए।

तर दैवले उनको परिवार खुशी भएको देख्न सकेन। लक्ष्मीले उतै अन्तिम सास फेरे।

‘३/४ दिनसम्म काममा नगइ कोठामै सुतेर बसेको थियो रे, मंसिर २६ गते अचेत अवस्थामा देखेपछि साथीभाइले अस्पताल लगेछन्। अस्पतालले मृत्यु भएको बताएछ।उसका साथीहरुले तपाईको छोरा मर्‍यो भन्नेर फोन गरेका थिए। डेढ महिनापछि छोराको शव आएकोले लिन आएको हुँ,’ नरबहादुर भन्दै थिए।

उनको शव नेपाल फर्काउने सूचना पाउने बित्तिकै बुबा नरबहादुर शनिबार काठमाडौं ओर्लिएका थिए। केहीबेरमा नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १९ जनाको शव विमानस्थलमा झर्यो।

उनलाई हतास थियो छोराको शव हेर्न। नजिकै रहेका कर्मचारीले उनलाई शव परिचाहन गर्न सहजिकरण गरिदियो। उनले आफ्नो छोराको शव चिने र बाकस आफै तान्दै विमानस्थलको गेटबाट बाहिर निस्किए।

घरसम्म पुर्‍याउन शवलाई तान्दै गह्रौं पाइला अगाडि बढाए। बाहिर उनको छोराको शव लैजान गाडिमा कुरिरहेको थियो। बुढो हड्डि त्यसमाथि पारिवारिक बिछोडको पीडा। उनी एक्लैले शव सकिनसकि गाडिमा राखे।

तर गाडीमा शव राखेसँगै उनले आफ्नो आँशु थाम्न सकेनन्। छेउमै रहेको गाडी नजिकै थचक्क बसेर भक्कानिए।

खेतीपाती गरेर खानलाई जग्गा जमिनकाे अभाव रहेछ। प्रेम विवाह गरेपछि माछा मारेर मात्रै खान नपुगेपछि परिवारकै सल्लाहमा उनी मलेसिया हिँकिएका रहेछन्। उनी उतै रहेको बेला जन्मिएको रहेछ छोरी।

‘छोरी जन्मिने बेलासम्म सबै कुरा राम्रै थियो। ३ वर्षपछि छोरा नेपाल फर्किने बेलैमा उसकी पहिलो श्रीमती धन पैसा लगेर अर्कैसँग बिहे गरेर गइन्। छोराले कमाएको धन बुहारीले च्यापेर हिँडेपछि हामीलाई पुन: आर्थिक चापले पेल्न थाल्यो,’ उनले भने।

लक्ष्मीले बुढा बुबालाई स्याहार गर्न अर्को बुहारी ल्याउने सोच बनाए। छोराको जिद्दीको अगाडि केही लागेन नरबहादुरको।

लक्ष्मीले दोस्रो विहे गरे। ‘कान्छी श्रीमतीबाट २ वटा छोरा जन्मिए। हामी त काम गरेर खान सक्ने थियौं। तर छोराछोरीलाई पढाउन् र श्रीमतीलाई पाल्न गाह्रो भएपछि छोरो पुनः मलेसिया हिँड्यो। पैसा कमाएर ल्याउँला सोचेका थियौं, तर उसको सास पनि नेपाल फर्किन पाएन,’ नरबहादुर भक्कानिदै बिगत सुनाउन थाले।

उनका छोरा लक्ष्मी दोस्रो पटक मलेसिया गएको ८ वर्ष भएको थियो। उनी त्यहाँ पुगेर करिब डेढ वर्ष नेपालबाट तय भएको कम्पनीमा काम गरे। कम्पनी नियमित पैसा नदिएपछि कम्पनी छोडेर भगे। त्यसपछि साथीहरुसँग बसेर अबैधानिक रुपमा काम गर्दै आएका थिए।

त्यही क्रममा उनको गएको हो ज्यान। उनको मृत्युपछि शव घर ल्याउन धेरै मुस्किल भयो। त्यहाँ भएका साथीभाइले चन्दा उठाएर उनको शवलाई नेपालसम्म ल्याउने व्यवस्था मिलाएका हुन्।

‘छोरा विदेश भएको बेला कमाउन नसकेको भन्दै घरमा नियमित पैसा पठाउँदैन थियो। आर्थिक अभावले पारिवरिक अवस्था नाजुक हुँदै गयो। घरम केटाकेटीलाई खानलाउनसमेत गाह्रो भएको थियो,’ उनले भने।

मृतक लक्ष्मीको घरमा आमाबुबा, श्रीमती र २ छोरा १ छोरी छन्। छोरीले झापाको निजि विद्यालयमा पढ्छिन्। २ छोराले गाउँमै पढ्छन्। श्रीमतीले गाउँमा मेलापातको काम गर्छिन्।

‘अहिले यहाँ शव ल्याउन आउदा पनि गाउँमा चन्दा उठाएर आएका हौं। अब घरमा कसरी काजक्रिया कसरी गर्ने थाहा छैन। गाउँपालिकाले शव घर ल्याएपछि १५ हजार दिन्छु भनेको छ, त्यसैले धान्नुपर्ला,’ नरबहादुरले आँखु खसाल्दै भने।

प्रतिक्रिया लेख्नुहोस्