माघ १४, याङ्वरकफोकस / खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ स्थित निर्माण गरिएको तोयामा, खियामा र रैछकुले (हेचाकुप्पा)को प्रतिमाको संरचना र सूचनापाटी तोडफोड भएको छ ।

किरात राई यायोक्खाले निर्माण गरेको उक्त संरचना माथी अज्ञात समूहले तोडफोड गरेका छन् । चर्चित गायक राई इज किङ राजेश पायल राईले मंगलबार साँझ सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै किरात राईहरुको सृष्टिकर्ता(हेचाकुप्पा) माथी क्षति पुर्याउनेलाई कारबाही नभए गीत गाउन छाडेर खुडो(तरबार) बोक्ने चेतावनी सहित आफ्नो फेसबुकमा आक्रोश पोखेका छन् ।

किरात राई यायोक्खाले यस स्थानमा दुई वर्ष अगाडि लगभग ५५ लाख रुपैयाँ खर्च गरी तुवाचुङमा तयामा, खियामा र रैछकुलेको प्रतिमा निर्माण गरेको थियो । रैछकुले किरात राईहरुको मुन्दुम अनुसार आदिम मानव हुन् ।

तुवाचुङ किँरातीहरुको ऐतिहासिक तथा सांस्कृतिक स्थल हो । पुर्वमा यसअघि पनि विभिन्न ऐतिहासिक र धार्मिक स्थलहरूमा सांस्कृतिक अतिक्रमण बढ्दो रहेको सर्वविदितै छ । तर यसको जिम्मेवार को हुने ? स्थानीय सरकार वा प्रतिनिधि ? यसको जवाफ खोज्नैपर्ने छ ।

उक्त स्थानलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी अन्य भौतिक संरचनाहरु समेत निर्माण गरिएको छ । यस क्षेत्रको संरक्षण र विकासका लागि तुवाचुङ जायमुज समितिले रेखदेख गर्दै आएको छ भने यो समाचार तयार पार्दा सम्म यस घटनाप्रती किरात राई यायोक्खा बेखबर जस्तै बनेको छ ।

गायक राजेश पायल राईले आफ्नो फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै –

“मलाई त लाग्थ्यो हाम्रो शृस्टीकर्ता तोयामा खियामा र रैछकुले (हेचाकुप्पा) को बर्दानले हामी यहाँ छौ र सस्कारी बनेका छौ तर यो उपद्रो कल्ले गर्‍यो ? खोज किराती केटो हो नत्र म गित गाउन छोडेर खुडो बोक्न नपरोस ..त्यो दिन सन्सार अध्यारो होला !! भयन्कर निन्दनिय छ !”

प्रतिक्रिया लेख्नुहोस्