अफगानिस्तानको राजधानी काबुलमा बम हमला

माघ २० मंगलबार

अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान शृंखलाबद्ध बम आक्रमण भएको छ । प्रहरीका अनुसार बम आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । उत्तरी काबुलमा प्रहरीको सवारीलाई लक्षित गरी बम आक्रमण गरिएको थियो ।

प्रहरी प्रवक्ता फरदाज फरामार्जले पहिलो बिस्फोटमा दुई जनाको मृत्यु भएको र अरु दुई जना घाइते भएको जानकारी दिए । अफगान गृह मन्त्रालयको अर्को सवारी साधनलाई लक्षित गरी भएको विस्फोटमा परेर दुई जना सुरक्षाकर्मी घाइते भएको अफगान प्रहरीले जनाएको छ ।

तेस्रो विस्फोटबाट कुनै पनि क्षति भए नभएको बिस्तृत विवरण प्राप्त भइनसकेको प्रहरी प्रवक्ता फरामार्जले जानकारी दिए ।

हालैका महिनामा सरकारी कर्मचारी, पत्रकार, वकील, अधिकारीकर्मी र सवारी साधनहरूमाथि लक्षित गरी बम आक्रमणहरु नियमित झैं हुने गरेका छन् तर यी आक्रमणको कसैले पनि अहिलेसम्म जिम्मेवारी लिने गरेको पाइएको छैन । सरकारले यी आक्रमणहरु अफगानिस्तानमा सक्रिय मुख्य विद्रोही समूह तालिबानले गराएको आरोप लगाउँदै आएको छ ।

यसैबीच, अफगानिस्तानको कुन्दुज प्रान्तको कुन्दुज शहर नजिक सुरक्षाकर्मीसँगको भिडन्तमा चार सुरक्षाकर्मी र तीन जना विद्रोही लडाकूहरु मारिएका छन् । प्रहरी प्रवक्ता फउजिया जवाद याफतालीले जाखिल खामदानमा रहेको सेनाको परिक्षा केन्द्र चौकीलाई लक्षित गरी तालिबान समूहले आक्रमण गर्दा दोहोरो भिडन्त भएको थियो ।

अफगानिस्तानमा युद्धरत तालिबान र अफगान सरकारबीच कतारको दोहामा गत सेप्टेम्बरदेखि प्रत्यक्ष वार्ता जारी रहेको छ, तर जारी वार्ताको प्रगति निकै सुस्त देखिएको छ ।

अमेरिकामा गत जनवरी २० मा निर्वाचित राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले गत वर्ष तालिबानसँग अमेरिकाले गरेको शान्ति सम्झौताको समीक्षा गर्ने बताएको छ । अफगानिस्तानमा पछिल्लो समय जारी हिंसाप्रति अमेरिकी प्रशासनले निन्दा एवं भत्र्सना गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्