फाल्गुन १६ आइतबार

अन्तर्राष्ट्रिय खबर । म्यानमारमा सेनाले शासन हात लिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा कम्तीमा १८ जनाभन्दा धेरैले ज्यान गुमाएका छन् ।

संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले म्यानमारको प्रदर्शनमाथिको यो सबैभन्दा ठूलो दमन भएको उल्लेख गरेको छ । म्यानमारको यंगुन, दबेई र मन्डालेमा पनि प्रदर्शनकारीहरु मारिएका छन्, त्यहाँ प्रहरीले गोली र अश्रुग्यास हानेको थियो ।

गत फेब्रुअरी १ मा सेनाले शासन हातमा लिएपछि गत एक हप्तादेखि प्रदर्शन हुँदै आएको थियो । तर शनिबारदेखि प्रहरीले बल प्रयोग गर्न थालेको छ । सामाजिक सञ्जालमा आएका भिडियोमा प्रहरीले गोली चलाएपछि प्रदर्शनकारीहरु भागेको दृश्य देखिन्छ ।

आइतबार यंगुन, मन्डाले र अन्य शहरमा सुरक्षाकर्मीको गोलीका बाबजुद ठूलो संख्यामा प्रदर्शनकारी सडकमा निस्किएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली, अश्रुग्यास र गोली नै चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्