फाल्गुन २३ आइतबार

“खुवालुङ” को संरक्षणको निम्ति फाल्गुन-२४ गते खुवालुङ क्षेत्रमा विभिन्न सरोकारवालाहरुको उपस्थितिमा खुवालुङ बचाउ सांस्कृतिक आन्दोलन-२०७७ हुने भएको छ ।

विभिन्न जातीय संघ सस्थाहरु र सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम आदिवासी जनजाती साहित्यकार महासङ्घ नेपाल अन्तरगत किरात राज्य समिति/लिम्बुवान राज्य समिती, किरात राई लेखक सङ्घ, खुवालुङ क्षेत्र संरक्षण समिति, याक्थुङ लेखक सङ्घ र लिम्बुवान स्प्रीङ आन्दोलनको आयोजनामा हुन लागेको कार्यक्रममा प्रमुख वक्ता साहित्यकार तथा आदिवासी जनजाती साहित्यकार महासङ्घ नेपालका संयोजक राजन मुकारुङ रहेका छन् ।

उक्त कार्यक्रममा लेखक तथा साहित्यकारहरूको कविहरूको कविता वाचन र रङ्गभूमि एकेडेमीको विशेष नाटक प्रस्तुति रहेको छ ।

गत फागुन ८ बिराटनगरमा प्रधानमन्त्री के.पि. शर्मा ओलिले चतरा–भोजपुरको पानीजहाजको यात्रालाई सहज पार्ने उदेश्यले ढुङ्गा(खुवालुङ )मा क्रेन लगाएर फुटाउने उद्घोष पश्चात् यो वहस झनै पेचिलो बन्दै गएको छ । किरात समुदायको आस्थाको केन्द्र खुवालुङलाई क्रेन लगाएर फुटाउने अभिव्यक्ति दिएपछि किरात समुदायमा थप चर्चामा आएको र किरात समुदायका अगुवाहरुले चर्को विरोध गरिरहेका छन् ।

खुवालुङको स्थल :- दुधकोशी, अरुण र तमोरको सङ्गम स्थलमा रहेको त्रिवेणि घाट स्थित खुवालुङ पर्दछ भने भोजपुर, उदयपुर्, धनकुटा र सुनसरी जिल्लाको सिमाना पर्छ । खुवालुङ किराँती मुन्दुम अनुसार पुर्खाहरू छुट्टिएको स्थल भन्ने किवदन्ती सुन्न पाइन्छ भने किरातिहरुको शक्ति केन्द्रको रुपमा पनि खुवालुङलाई लिन सकिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्