फाल्गुन २७ बिहिवार

खुवालुङ संरक्षणमा जुटेका अभियन्ता दिनेश काम्दुङ खुम्बु र साजन राईलाई प्रहरीले पक्राउ गरेको छ । सप्तकोशीमा डुंगा चलाइरहेकाहरूको उजुरीमा खुम्बुलाई सुनसरी चक्रघाटीको इलाका प्रहरी कार्यालयले पक्राउ गरेको किरात राई विद्यार्थी संघका अध्यक्ष रामचन्द्र राईले जानकारी दिए ।

८ फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा फुटाएर भए पनि कोसीमा जहाज चलाइ छाड्ने उदघोष गरेका थिए । सोमबार यही तमोर, अरुण र दुधकोशीको संगमस्थलमा अभियन्ताहरूले किरातीहरूको सांस्कृतिक स्थल खुवालुङ ढुंगा फुटाउने सरकारी योजनाको विरोध गरेका थिए ।

‘सोमबार खुवालुङ पुगेर विरोध गर्ने कार्यक्रम थियो, तर डुंगा व्यवसायीले अभियन्ताहरूलाई खुवालुङसम्म पुर्‍याउन आलटाल गरे,’ उनले भने, ‘यही विषयमा सामान्य विवाद भएको थियो । विवादलाई अतिरञ्जित गरेर डुंगा व्यवसायीले उजुरी गरे । आज प्रहरीले दिउँसो १ बजेतिर दिनेशलाई पक्राउ गरेको छ । अहिलेसम्म छोडेको छैन ।’

किराँत सभ्यता र मुन्दुमका मिथ जोडिएको उक्त ढुंगा उदयपुर, धनकुटा र भोजपुरको सीमानामा पर्छ । वराह क्षेत्र नजिकै रहेको खुवालुङ क्षेत्रमा किराँतहरूले पूजा तथा अनुष्ठान गर्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्