बैशाख २२, याङ्वरकफोकस / इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको सेमिफाइनलको दोस्रो लेगमा पिएसजीलाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जित निकाली सिटी इतिहासमा पहिलो पटक फाइनल पुगेको हो ।

घरेलु मैदानमा सिटीले ११ औं मिनेटमा माहरेजको गोलमा अग्रता लिएको थियो । गोलरक्षक एडरसनको लामो प्रहारलाई माहरेजले गोल गरेका हुन् । खेलको ६३ औं मिनेटमा सिटीले आफ्नो अग्रता दोब्बर पार्यो । फिल फोडेन र केभिन डे ब्रुएनले वन टु पासलाई माहरेजले दोस्रो गोल गरे ।

सिटिले ५१ वर्षमा पहिलो पटक युरोपेली प्रतियोगिताको फाइनल खेल्न लागेको हो । सिटीले अब फाइनलमा चेल्सी र रियल म्याड्रिडको बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्