फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को छनौट खेलमा नेपाल अन्तिम खेलमा पराजित हुँदै आफ्नो यात्रा टुंग्याएको छ। नेपालले शुक्रबार अष्ट्रेलियासँग प्रतिस्पर्धा गरेको थियो । कुवेतको राजधानी कुवेतस्थित मैदानमा भएको खेलमा नेपाल ०–३ गोल अन्तरले पराजित भयो । १० खेलाडीमा सिमित नेपालका लागि गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दा थप गोल खानबाट जोगियो ।

पहिलो हाफ सकिनै लाग्दा नेपालका सबैभन्दा महत्वपूर्ण खेलाडी रोहित चन्द रेडकार्ड खान पुगेपछि नेपाल १० खेलाडीमा सिमित भएको थियो । नेपालले पहिलो हाफमा २ गोल खाएको थियो भने दोस्रो हाफमा १ गोल खान पुग्यो। नेपालले पहिलो हाफभन्दा दोस्रो हाफमा सुधारिएको खेल खेलेको थियो। अष्ट्रेलियाले नेपाली गोल पोस्टमा लगातार आक्रमण गर्दा नेपालले अष्ट्रेलियाको पोस्ट आक्रमण नै गर्न सकेन ।

कुवेत यात्रामा नेपालले एकमात्र खेल चाइनिज ताइपेसँग जितेको थियो । जोर्डन र अष्ट्रेलियासँग पराजित हुँदै नेपाल घर फर्किएको हो । त्यसअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल पराजित भएको थियो ।

#खेलकुद

प्रतिक्रिया लेख्नुहोस्